भारतीय नागरिकताको विषयमा पूर्वगृह राज्यमन्त्रीको प्रतिक्रिया

१४ पुष २०७६, सोमबार १०:१४

काठमाडौं, नागरिककै हैसियतमा कँडेलसँग भारतीय प्यान कार्ड शीर्षकमा पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलको भारतीय नागरिकताबारे फलोअप समाचार छापिएको थियो । समाचारमा भारतीय प्यान कार्ड मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको विवरण पनि प्रकाशित भएको थियो ।

सीमापारको स्थलगत अनुसन्धानपछि लेखेको समाचारलाई खण्डन गर्न कँडेलले आइतबार नै एक विज्ञप्ति जारी गरेका छन् । तर, उनले कुनै पनि तथ्यको वस्तुगत जवाफ दिएका छैनन् ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबी, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी नवलपरासीले पनि अनुसन्धान गरिरहेका छन् । सरोकारवाला निकायले गरिरहेको अनुसन्धानप्रति कँडेलले विज्ञप्तिमा केही पनि उल्लेख गरेका छैनन् ।

४९ ए क्याटगोरीको प्यान कार्डबारे कँडेल मौन
कँडेलले विज्ञप्तिमा लेखेका छन्, ‘भारत वा अन्य देशमा जुन उद्देश्यसहित बसोवास गरे पनि प्यान कार्ड लिँदैमा त्यो देशको नागरिक हुन सक्दैन ।’

दुई पृष्ठ लामो विज्ञप्तिमा उनले यही तर्क मात्र दोहो¥याइरहेका छन् । तर, कँडेलले भारतीय प्यान कार्ड लिएको आधारमा मात्र नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको होइन । बरु उनले भारतीय नागरिकले पाउने क्याटगोरीको प्यान कार्ड लिएको प्रमाण समाचारले प्रस्तुत गरेको छ ।

कँडेलले भारतीय आयकर ऐन, १९६१ अनुसार ४९ ए क्याटगोरीको प्यान कार्ड लिएका छन् । यो कार्ड भारतीय नागरिकको विशेषाधिकार हो । यस्तो कार्ड भारतीय मूलका विदेशीले समेत पाउँदैनन् ।

नेपाली अथवा अन्य गैरभारतीयले पनि भारतमा प्यान कार्ड बनाउन पाउँछन् । तर, उनीहरूका नाममा ४९ एए क्याटेगोरीको प्यान कार्ड जारी गरिन्छ । यो महत्वपूर्ण तथ्यबारे कँडेलले एक शब्द पनि बोलेका छैनन् ।

इन्डियन सिटिजन किन भनिएको छ ? कँडेल मौन
भारतीय आयकर विभागमा सुरक्षित कँडेलको फाइलमा ‘इन्डियन सिटिजन फ्ल्याग’ भनेर स्पष्ट उल्लेख छ । भारतीय सरकारको आधिकारिक फाइलमा इन्डियन सिटिजन लेखिसकेपछि कँडेलले म भारतीय होइन भनेर कसरी भन्न सक्छन् । जब कि, त्यही विवरणअनुसारको कार्ड उनले बोकिरहेका छन् । र, त्यो कार्ड आफ्नो हो भनेर स्विकारेका छन् । यो विषयमा उनको विज्ञप्ति मौन छ ।

नेपाली नागरिक भएको प्रसंग नै किन छैन ? कँडेल मौन
भारतमा पनि कुनै विदेशीले प्यान कार्ड लिन सक्छ । तर, विदेशीले भारतमा कुनै व्यवसाय अथवा सामाजिक संस्था चलाउँदा त्यसको ठेगाना लेख्ने प्रावधान छ ।

तर, कँडेलले पेसाकर्मी अथवा सामाजिक संस्थाको सदस्यका रूपमा कार्यालयको होइन, नागरिकका रूपमा आफ्नो व्यक्तिगत ठेगाना उल्लेख गराएका छन् । १७९, ३५, बाजपाई कम्पाउन्ड, ३३ कसैया रोड, बेतियाहाता, गोरखपुर उत्तरप्रदेश उनको ठेगाना हो । उनको विवरणमा नेपाली नागरिक भएको कुनै प्रसंगै छैन । (नयाँ पत्रिका दैनिक)