
काठमाडौं , राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकतासम्बन्धी प्रावधानमा भेदभाव रहेको बताउनु भएको छ ।
‘राज्यविहीनताविरुद्ध अन्तर्राष्ट्रिय कानुनहरूको संगालो’ विमोचनमा उहाँले यस्तो बताउनु भएको हो । ‘संविधानमै नागरिकतासम्बन्धी प्रावधानहरू विवादित छन्,’ शर्माले भन्नु भयो ‘बाबु विदेशी र आमा स्वदेशी भयो भने एउटा समस्या छ । तर बाबु नेपाली र आमा विदेशी भयो भने कुनै समस्या छैन् । वंशजको आधार पुरुषबाट सुरु हुन्छ ।’ शर्माले बाबु नेपाली हुँदा छोरा वंशज हुने र आमा नेपाली र विदेशी हुँदा वंशज नहुने प्रावधान आफैंमा विभेदपूर्ण रहेको बताउनु भयो ।
राष्ट्रियताका हिसाबले महिला महासन्धिहरू कति उपयुक्त छ भनेर जानकारी दिने उद्देश्यले ‘राज्यविहिनताविरुद्ध अन्तर्राष्ट्रिय कानुनहरूको संगालो’ पुस्तक नेपाली अनुवाद गरी विमोचन गरिएको हो । राष्ट्रिय महिला आयोग र महिला कानुन र विकास मञ्चले कार्यक्रमको आयोजना गरेको थियो ।
