मागपत्र प्रमाणीकरण र श्रमिक छनोट अनलाइनबाट

१२ पुष २०७६, शनिबार ०९:५३

काठमाडौं, वैदेशिक रोजगार विभागले मागपत्रको प्रमाणीकरण (एटेस्टेसन) र श्रमिक छनोट (सेलेक्सन) प्रक्रियाका काम सन् २०२० जनवरी १ तारिखदेखि अनलाइन प्रणालीबाट गर्ने गरी तयारी गरेको छ । विभागले वैदेशिक रोजगार व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित जनवरी १ तारिखबाट यो प्रणाली लागू गर्न थालेको हो ।

विभागका अनुसार वैदेशिक रोजगारीसँग सम्बन्धित सबै कामलाई विद्युतीय (अनलाइन स्टिमम) प्रणालीमा लैजाने तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । विभागका निर्देशक भोलानाथ गुरागाईले विभागले सन् २०२० जनवरी १ तारिखदेखि श्रम स्वीकृतिका सबै कार्यलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मार्फत गर्न नसके पनि श्रमिकको मागको प्रमाणीकरण र छनोटलाई अनलाइन प्रणालीबाट गर्ने गरी तयारी गरेको जानकारी दिए ।

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई सुधार गर्नका लागि गतवर्ष असोजबाट एफईआईएमएसलाई अगाडि बढाएका थिए । एफईआईएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी, अध्यागमन विभाग, राहदानी विभाग, मेडिकल, बैङ्क, बीमा, अभिमुखीकरण, विदेशस्थित नेपाली नियोग एकैसाथ जोडिने छन् । यसमा प्रमुख गन्तव्यस्थित नेपाली दूतावासलाई जोडिएको छ ।

मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई) यसमा जोडिएका छन् र अन्य गन्तव्य देश कतार, साउदी अरब, कुवेत बहराइनलगायतलाई पनि यस प्रणालीमा जोड्न पत्राचार गरिसकेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । यो प्रणाली कार्यान्वयनपछि प्राविधिक रूपमा समस्या आउँदाबाहेक श्रम स्वीकृति प्रक्रियामा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि र विभागका कर्मचारीबीच भेट गर्ने नै नपर्ने उनको भनाइ छ ।

मागपत्र प्रमाणीकरण र श्रमिक छनोट प्रक्रियालाई पारदर्शी बनाउन र विभागलाई भ्रष्टाचारमुक्त बनाउन अनलाइन प्रणाली अवलम्ब गरिएको भन्दै उनले अब श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि हाम्रो कार्यालय धाइराख्न नपर्ने बताए । विभागले बुधबार विदेशस्थित नेपाली दूतावासलाई श्रम स्वीकृतिको प्रक्रियाका लागि एफईआईएमएस भित्रको एटेस्टेसन मोड्युलको युजर आईडी र पासवर्ड लिन आग्रह गरेको छ परराष्ट्र मन्त्रालयले गत मंसिर २६ गते सबै नियोगलाई पत्र लेखेर युजर आईडी, पासवर्ड लिन र मागपत्र एफईआईएमएसमार्फत गर्न गराउन आग्रह गरिसकेको छ ।(आजको गोरखापत्र दैनिकबाट)