
एजेन्सी,
मुम्बई , विगत दुई दशकदेखि बलिउड अभिनेत्री करिना कपुर फिल्मनगरीमा सक्रिय छन् । उनले आफ्नो २० वर्षै करिअरमा एकपछि अर्को सफल चलचित्रमा काम गरेकी छन् । सन् २००० मा चलचित्र ‘रिफ्युजी’ बाट बलिउड छिरेकी अभिनेत्री करिना अहिले निकै सफल कलाकारको रूपमा परिचित छन् ।
यस अवधिमा उनले कुनै पनि चलचित्रका लागि अडिसन दिनु परेन । अडिसनविनै उनलाई एकपछि अर्को चलचित्रमा काम गर्ने अवसर मिल्दै गयो । यसैबीच फिल्मी करिअरमा उनले पहिलोपटक पछिल्लो समय एक चलचित्रका लागि अडिसन दिनुपरेको छ । उनले अडिसन दिएको चलचित्र ‘लालसिंह चढ्डा’ हो ।
उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘फिल्म लालसिंह चढ्डा मेरो करिअरको पहिलो फिल्म हो जसका लागि मैले अडिसन दिनुप¥यो ।’ उनले बलिउडका चर्चित अभिनेता आमिर खानबाहेक अरूका लागि यस्तो नगर्ने समेत बताएकी छन् । उनले भनिन्, ‘म अन्य कुनै व्यक्ति र फिल्मका लागि यो गर्दिनथेँ, केबल आमिरबाहेक ।’ ‘लालसिंह चढ्डा’ हलिउडको चर्चित चलचित्र ‘गम्प’ को रिमेक हो ।
यसमा टाँम हैंकसको भूमिका आमिरले निभाउँदै छन् । करिना चलचित्रमा आमिरको अपोजिट भूमिका रहेकी छन् । अहिले यो चलचित्रको सुटिङ सुरु भइसकेको निर्माण पक्षले जनाएको छ । यो चलचित्र अर्को वर्षको क्रिसमसमा प्रदर्शनमा आउने तयारीका साथ काम भइरहेको जनाइएको छ ।
यसैबीच अभिनेत्री करिना अभिनित नयाँ चलचित्र ‘गुड न्युज’ २७ डिसेम्बरबाट प्रदर्शनमा आउँदै छ । यस चलचित्रमा करिनाका साथमा अभिनेता अक्षयकुमार, दिलजीत दोसांझ र कियारा आडवाणी मुख्य भूमिका रहेको छ ।(सौर्य अनलाइनबाट)
