यी हुन संसदमा दर्ता भएका ४ नयाँ विधेयक

७ पुष २०७६, सोमबार १६:०३

काठमाडौ , संघीय संसदको चालु हिउँदे अधिवेशनमा चारवटा नयाँ विधेयक दर्ता भएका छन् । प्रतिनिधिसभातर्फ कारागारसम्बन्धी कानुन संशोधन र पशु स्वास्थ्यसेवा सम्बन्धी २ विधेयक दर्ता भएको संसद सचिवालयले जनाएको छ ।

यस्तै, राष्ट्रियसभामा विशेष सेवा र नीति अनुसन्धान प्रतिष्ठान सम्बन्धी दुई वटा विधेयक दर्ता भएको छ । राष्ट्रिय अनुसन्धान विभागलाई बलियो र प्रभावकारी बनाउन भन्दै व्यक्तिगत र संघसंस्थाका टेलिफोन, मोबाइल फोन ट्यापिङ गर्ने विधेयकमा उल्लेख छ ।

यो प्रस्तावमा विपक्षी दल कांग्रेसले विरोध जनाएको छ । चौथो अधिवेशनबाट आएका २४ वटा विधेयक विचाराधिन अवस्थामा छन् ।

प्रतिनिधिसभामा नागरिकता सम्बन्धी विधेयक लगायत विचाराधीन छन् । यस्तै, राष्ट्रियसभाका समितिमा मिडिया काउन्सिल, संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध व्यवस्थित गर्ने, इन्जिनियरिङ परिषद् र काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन विधेयक विचाराधीन छन् ।