नागरिकता किर्ते गरी नक्कली ड्राइभिङ लाइसेन्स बनाउने गिरोह नै पक्राउ

२ पुष २०७६, बुधबार १४:३४

काठमाडौँ , नक्कली कागजात बनाई फरक व्यक्तिहरुले सवारी चालक अनुमतिपत्रको ट्रायल दिने गरेको खुल्न आएको छ । काठमाडौँको चन्द्रागीरि नगरपालिका गुर्जुधारामा रहेको भेईकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट ट्राफिक प्रहरी महाशाखाको टोलीले दुईजनालाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो ।

उक्त सेण्टरबाट कालिकोटको खाडाचक्र घर भइ हाल चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने दिपक शाहीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट दुई थान ल्यापटप, एक थान प्रिन्टर र जिल्ला प्रशासन कार्यालय लेखिएको नेपाली नागरिकताको नक्कली कार्ड ११ थान बरामद गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए ।

नक्कली नागरिकता बनाउन प्रयोग गरीने क्रिम पेपर ६ थान, विभिन्न व्यक्तिहरुको नागरिकता पमाणपत्र नम्बर र नाम प्रयोग गरी बनाइएका नक्कली नागरिकता ७ थान र नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय बाँके भएको छाप एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरि यातायात व्यवस्था कार्यालयबाट ट्रायल परीक्षाको लागि जारी गरीने विभिन्न नाम, थर र ठेगाना भएका व्यक्तिहरको एप्लीकेन्ट आइडी को फोटोकपी ३० थान, शाखा अधिकृत भएको छाप १ थान, क्याम्लिन लेखिएको स्टाम्प प्याड २ थान, रातो लेख्ने कलम १, फोटो टाँस्न प्रयोग हुने गम २ थान र कैची १ थान समेत बरामद गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।