प्रतिबन्धित नेकपाका पुर्वकेन्द्रीय सदस्यसहित दुईजना पक्राउ

१ पुष २०७६, मंगलवार १७:५२


चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा उदयपुरका पुर्वकेन्द्रीय सदस्यसहित दुईजना नेतालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

प्रहरीले उदयपुरको कटारी नगरपालिका ६ रिस्कु स्थित धापडबाट पुर्व केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज भोजपुरका षडानन्द गाउँपालिका १३ बोयाका ४३ वर्षीय दिपेस राई भनिने देवान चाम्लीङ्ग र जिल्ला कमिटी सचिवालय सदस्य कटारी नपा ४ उदयपुरका ३२ वर्षीय सुरेन्द्र थापालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीबहादुर बुढामगरका अनुसार जिल्लाको पश्चिमी क्षेत्रमा विप्लव कार्यकर्ताले चन्दा अभियान तीव्ररूपमा संकलन गरिरहेको विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट चन्दा संकलनमा प्रयोग गरिएको रसिद, ३२ हजार नौ सय ५० नगद, एनटिसीको सिम २२ थान, एनसेलको १६, स्मार्ट मोबाइलको सिम १ थान, स्काइ सिम १ थान र एनड्रोईड मोबाईल २ थान, किप्याड मोबाईल ६ थान बरामद गरिएको छ । पक्राउ परेका दुबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।