श्वेतपत्र जारी गर्न छाया श्रममन्त्रीको माग

१ पुष २०७६, मंगलवार १७:०९

काठमाडौँ , प्रतिनिधिसभा सदस्य तथा छाया श्रममन्त्री डा डिला संग्रौलाले नेकपा नेतृत्वको सरकार हरेक क्षेत्रमा असफलतातर्फ उन्मुख भएको बताउनु भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै छाया मन्त्री संग्रौलाले सर्वहारा तथा श्रमिकको नाममा शासन गर्ने तर क्रोनि क्यापिटालिजमलाई अंगालो मार्ने सरकारले हरेक क्षेत्रमा भ्रष्टाचारलाई बढावा दिइ रहेको दावी गर्नु भयो ।

‘हरेक दिनजसो सडक दुर्घटनामा सर्वसाधारण, निर्दोष जनताको ज्यान गइरहेको छ, तर सरकार कानमा तेल राखेर सुतेको छ । यो पृष्ठभूमिमा पौष ४ गते बाट शुरु हुने संसदको हिउँदे अधिवेशनमा खासगरी श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य गर्न हामीले जोडदार आवाज उठाउने कुरा जानकारी गराउन चाहन्छु’ संग्रौलाको भनाई छ ।

साथै उहाँले वैदेशिक रोजगार, सामाजिक सुरक्षा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वर्तमान अवस्थाबारे तत्काल एउटा श्वेतपत्र जारी गर्न सरकारसँग माग गर्दै यस क्षेत्रका समस्याहरूको पहिचान गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका कार्यक्रम ल्याउन पनि आह्वान गर्नु भएको छ ।