
काठमाडौँ , उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने बताउनु भएको छ ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले उक्त कुरा बताउनु भएको हो ।
भ्रष्टाचारीहरुलाई राजनीतिको संरक्षण हुने गरेका÷भनिएका कुनै पनि भ्रष्टाचारजन्य कामहरुले छुट्न नपाउने उहाँले बताउनु भयो ।
जुनसुकै तहमा रहेको राजनीतिक नेतृत्वबाट भ्रष्टाचारजस्तो दुस्कर्म भएको भेटिए दण्डनीय हुने पोखरेलले बताउनु भयो ।
भ्रष्टाचारले नियमित, आकस्मिक र सामाजिक जीवनलाई तहसनहस गर्ने बताउँदै उहाँले त्यस्ता कार्यमा संलग्न व्यक्तिले कुनै न कुनै रुपले दुस्परिणाम भोग्ने कुरा सत्य भएको बताउनु भयो ।
भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गरेमात्रै दिवस मनाउनुले सार्थकता पाउने पोखरेलको भनाई थियो ।
