स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस्ः मन्त्री ढकाल

१७ मंसिर २०७६, मंगलवार १७:०४

भक्तपुर , स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताउनु भएको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।
बजारमा औषधि महङ्गा छन् र औषधि नै किन्न नसकेर मान्छेहरु रोगसँग लड्न पाएका छैनन् भन्ने सुनेको उल्लेख गर्दै अब औषधि उपचारका सेवा नपाएर, आर्थिक अभावका कारण कोही पनि मर्न नपरोस् र स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर सरकारले काम गरिरहेको उहाँले बताउनु भयो । स्वास्थ्यमन्त्री ढकालले विदेशी दाताले दिएको रकम सेवाका नाममा विदेशमै भ्रमण गर्ने र गोष्ठी गरेर रकम सक्ने खालको परिपार्टीलाई पूर्णरुपमा नियन्त्रण गरिने बताउनु भयो ।

उहाँले कमिसनका आधारमा औजार किन्ने र थन्क्याउने परिपाटीले पनि स्वास्थ्य क्षेत्रमा परिचालन गरिएका रकम यत्तिकै सिद्धिएको भन्ने जानकारी आफूले पाएकाले अब स्वास्थ्य क्षेत्रमा रहेको तमाम बेथितिको अन्त्य गरिने उहाँको भनाई थियो ।