सीमा विवादमा छलफल गर्न संकल्प प्रस्ताव

७ पुष २०७६, सोमबार १०:४४

काठमाडौं, सीमा विवादबारे छलफल र अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसद खगराज अधिकारीले प्रतिनिधि सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका हुन् । त्यसको समर्थकमा सांसद रामकुमारी झाँक्री छिन् ।

सभामुखले विभागीय मन्त्रीसँगको परामर्शमा सो प्रस्ताव छलफलका लागि अघि बढाउन सक्ने व्यवस्था छ । प्रस्ताव दर्ता भई प्रक्रियामा गएको प्रस्तावक अधिकारीले जानकारी दिए ।

प्रस्तावमा सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले अहिले गरेका प्रयास सकारात्मक भएकाले निरन्तरता दिनुपर्ने उल्लेख छ । कालापानीलगायतका क्षेत्रको सीमा विवादमा सरकारले अघि बढाएको पहललाई सर्वस्वीकार्य रूपमा अघि बढाउन प्रस्ताव आवश्यक भएको उल्लेख गरिएको छ ।

यस्तै सरकारले गरेका सीमासम्बन्धी कामकारबाही अनुगमनका लागि सदनले समिति बनाउनुपर्ने माग प्रस्तावमा गरिएको छ । नेपालसँग सीमा जोडिएका मुलुकसँग आवश्यक छलफल गरी सीमा विवाद दीर्घकालीन रूपमा समाधानको पहल गर्न आवश्यक निर्देशनको माग पनि प्रस्तावमा गरिएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ८३ मा संकल्प प्रस्ताव दर्ता गर्न सकिने व्यवस्था छ । सो प्रस्तावबाट सरकारलाई राय वा सिफारिस दिन, सरकारको नीतिको समर्थन वा विरोध प्रकट गर्न, कुनै सन्देश वा निर्देशन दिन सकिने व्यवस्था नियमावलीमा छ । संकल्प प्रस्ताव सदनले स्वीकृत गर्नुपर्ने छ ।

स्वीकृत संकल्पको जानकारी सदनले मन्त्रिपरिषद्लाई दिने छ । मन्त्रिपरिषद्ले कार्यान्वयनपछि सदनलाई जानकारी दिनुपर्ने व्यवस्था नियमावलीमा छ ।आजको गोरखापत्र दैनिकबाट