उपत्यकासहित देशभरको न्यूनतम तापक्रम केही बढ्यो

१४ पुष २०७६, सोमबार १३:१९


काठमाडौँ , हिजोको तुलनामा आज सोमबार न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस मापन गरिएको छ। चिसो गराउने मौसमी प्रणाली सक्रिय नै रहे पनि अघिल्ला दिनको तुलनामा केही कमजोर भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबारको तुलनामा सोमबार चिसो हावा बहने क्रम केही कम भएको छ । यसले गर्दा काठमाडौँ उपत्यकासहित देशभरको न्यूनतम तापक्रम केही बढेको छ । आइतबारको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस थियो । त्यसअघि शनिबार काठमाडौँको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन भएको थियो ।
यस्तै पोखराको न्यूनतम तापक्रम ५.५, धनकुटाको ६.७, विराटनगरको ४.२ तथा दिपालयलको ३.६ डिग्री सेल्सियस मापन भएको छ ।देशभरका तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । यस्तै काठमाडौँ उपत्यकासहितका पहाडी क्षेत्रमा पनि कुहिरो लागेको छ ।