
भद्रपुर , (झापा) जङ्गली हात्तीको आक्रमणबाट सामुदायिक वनमा कार्यरत एक कर्मचारीको घटनास्थलमै ज्यान गएको छ। प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार हात्तीको आक्रमणमा परी ज्यान जानेमा कचनकवल गाउँपालिका–७ का ५५ वर्षीय काया राय क्षेत्री रहेका छन । मृतक क्षेत्री सोही गाउँपालिकास्थित पाथीभरा सामुदायिक वनमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए।
प्रहरीका अनुसार बिहीबार साँझ ७ बजे बनियानी बजारबाट घरतर्फ जाँदै गरेको अवस्थामा हात्तीसँग उनको बाटैमा जम्का भेट भयो। त्यसपछि हात्तीले आफ्नो सुँडले उचालेर पछार्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। उनको शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ।
