प्रहरी निरीक्षक हुँ भनी पैसा असुली गर्न खोजेको अभियोगमा एकजना पक्राउ

१२ मंसिर २०७६, बिहीबार १३:०४

पर्सा , काठमाडौं जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भनी पैसा असुली गर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका ५ बस्ने २७ वर्षीय दिव्‍यप्रकाश चतुर्वेदी छन्।
चतुर्वेदीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका९ बस्ने एक व्यक्तिलाई प्रहरी हुँ भन्दै हप्काएर पैसा मागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दिव्‍यप्रकाश चतुर्वेदी हातहतियार खरखजना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँ धरौटीमा छुटेको व्यक्ति भएको जनाइएको छ। उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।