निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छःराज्यमन्त्री दुगड

८ मंसिर २०७६, आईतवार १५:४८

काठमाडौँ , उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बढीभन्दा बढी सेवा सुविधा प्रदान गरी प्रवद्र्धन गर्नुपर्ने बताउनु भएको छ ।

राज्यमन्त्री दुगडले राजनीतिक स्थायित्वपछि मुलुक समृद्धिको दिशामा अघि बढेको बेला निजी क्षेत्रलाई सरकारले रातो कार्पेट ओछ्याएर लगानी गर्नका लागि स्वागत गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

राज्यमन्त्री दुगडले उद्योग मन्त्रालय निजी क्षेत्रको अभिभावक भएको र यसले उद्योग–व्यवसाय सञ्चालनको अनुमति दिन, प्रवद्र्धन गर्न, संरक्षण गर्न, बजार नियमन तथा अनुगमन गर्नाका साथै शान्तिसुरक्षा गर्नेसमेत जिम्मेवारी रहेको बताउनु भयो । उपरोक्त कामका लागि सरकारले उद्योगमैत्री वातावरण निर्माण गरी आवश्यक सहजीकरण गर्ने र उद्योगी–व्यवसायीका अन्य मन्त्रालयसँग सम्बन्धित कार्यका लागी समन्वयकारी भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

मुलुकमा बढ्दो वैदेशिक व्यापार घाटा कम गर्न स्वदेशी उत्पादन र उत्पादकत्व बढाई निर्यातमूलक उत्पादनलाई प्रवद्र्धन गर्ने उल्लेख गर्दै राज्यमन्त्री दुगडले सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र सञ्चालन गर्नु अपरिहार्य रहेकामा जोड दिनु भयो । जडीबुटी, खानी तथा खनिज उत्खननमा जोड दिने साथै पर्याप्त मात्रामा विद्युत् उत्पादन गरी निर्यात गरेर व्यापार घाटा कम गर्न प्रयास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुलुकको व्यापार–व्यवसाय क्षेत्रमा वैदेशिक लगानी बढाउन नीतिगत सुधार गर्नुपर्ने, एकद्वार प्रणालीबाट सञ्चालन अनुमतिलगायत उद्योग–व्यवसायका आवश्यक सम्पूर्ण कार्य गर्नुपर्ने र श्रम समस्या समाधान गरी सहजीकरण गर्नुुपर्नेमा जोड दिँदै राज्यमन्त्री दुगडले बहुआयामिक प्रतिफल दिने र अपार सम्भावना भएका कृषि, पर्यटन, वन, खानी र जलविद्युत्लगायत क्षेत्रमा लगानी वृद्धि गर्न तथा व्यवसाय सञ्चालनका लागि भरमग्दुर प्रयत्न गर्नेमा जोड दिनु भयो ।