चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचार अनुसार घटनामा परी अरू नौ जना घाइते पनि भएका छन् । सोमबार दिउसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
घटनास्लथमा दुर्घटना भएको बेला ३५ जना कार्यरत रहेका थिए । अरू ११ जनालाई भने कुनै चोटपटक पनि नलागि बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरूको भनाई छ ।
घाइतेहरुको अवस्था स्थिर रहेको र घटनाका बारेमा अनुसन्धान शुरू गराईसकिएको अधिकारीहरुले जानकारी दिएका छन् । चीनको खानीमा यस्ता दुर्घटनाका घटना बेला बेलामा भइरहने गरेको छ । खानीमा सुरक्षाको व्यवस्था अत्यन्त कमजोर रहेको जानकारहरू बताउछन् ।