काठमाडौँ , प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारीप्रति लगनशील भई कार्य गरेमा हरेक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने बताउनु भएको छ । महानगरीय प्रहरी दिवस २०७६ का अवसरमा आइतबार राजधानीमा आयोजित समारोहमा उहाँले प्रहरी कर्मचारीले पूर्ण व्यावसायिकताका साथ जिम्मेवारी बहन गर्दै कार्यसम्पादन गरे नागरिकले सुरक्षाको पूर्ण अनुभूति प्राप्त गर्ने जिकिर गर्नु भयो ।
प्रहरी कर्मचारीलाई इमान्दार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानून कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन निर्देशन दिँदै उहाँले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाइ समाजलाई भयरहित बनाउनु प्रहरीको जिम्मेवारी भएको बताउनु भयो ।
स्थानीय तह तथा समाजका सबै वर्गसँग सहकार्य गर्दै अगाडि बढ्न र आपराधिक गतिविधि नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमले महत्वपूर्ण योगदान पुगेको उहाँले बताउनु भयो ।