मुलुकको विकास र रक्षा गर्ने जिम्मेवारी युवा शक्तिको काँधमा आएको छः बामदेव गौतम

३० कार्तिक २०७६, शनिबार १७:५९

काठमाडौँ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई छुने बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै गौतमले छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको बताउनु भएको हो ।

जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउने पनि बताउनु भयो । विगतमा बुद्ध र सगरमाथाको नाममा नाम कमाउने काम भएको उल्लेख गर्दै अब भने समाजवाद निर्माण गरेर नेपालले विश्वसामु नाम कमाउने दाबी उहाँले गर्नु भयो ।

उहाँले मुलुकको विकास र रक्षा गर्ने जिम्मेवारी युवा शक्तिको काँधमा आएको भन्दै योगदानका लागि सधै तयार छु भन्ने भावना सबैमा जागृत हुनुपर्ने आवश्यकता औल्याउनु भयो ।

राष्ट्रिय युवा संघ नेपाल पद र प्रतिष्ठाका लागि नभई मुलुकको आवश्यकता अनुसार योगदान पुर्याउने जुझारु युवाहरुको संगठन भएको भन्दै दिईएको जिम्मेवारी पुरा नगर्नेलाई पद छोड्न पनि निर्देशन दिनु भयो । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो ।