एजेन्सी, घरेलु टोली ब्राजिल र फ्रान्स यु–१७ विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । ब्राजिलले इटालीको युथ टोलीलाई तथा फ्रान्सले स्पेनको युथ टोलीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।मंगलबार बिहान भएको खेलमा ब्राजिलको युथ टोलीले इटालीको युथ टोलीमा २–० को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । मेक्सिको र नेदरल्यान्डले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
स्टेडियो ओलम्पिको गोइउनियामा भएको खेलमा घरेलु टोलीलाई अन्तिम चारमा पु¥याउन प्याट्रिक र पेग्लोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको छैटौँ मिनेटमा नै प्याट्रिकले गोल गर्दै ब्राजिललाई अघि बढाए । ४०औँ मिनेटमा पेग्लोले गोल गर्दै ब्राजिलाई २–० को जित दिलाए ।
यस्तै अर्को खेलमा फ्रान्सले स्पेनको यु–१७ टोलीमाथि ६–१ को फराकिलो जित निकालेको छ । फ्रान्सले एक गोलले पछि परेको स्थितिमा पुनरागमन जित निकालेको हो । गोलको वर्षा भएको खेलमा फ्रान्सका नियानजोउ कोउयसी, नाथानेल एमबुकु, इसाक लिहान्ड जि, टिमोथी पेम्वेले, जर्जिन्हो रुटर र एदिल ओउचिचेले गोल गरे । स्पेनका जर्मन भलेराले गरेको गोल सान्त्वना बन्यो ।
अब सेमिफाइनलमा ब्राजिल र फ्रान्स तथा मेक्सिको र नेदरल्यान्डबीच खेल हुनेछ । सेमिफाइनल १४ नोभेम्बरमा तथा फाइनल १७ नोभेम्बरमा हुनेछ ।