मंगलबार बिहान बंगलादेशको ब्राम्हणबाडिँया जिल्लामा रेल दुर्घटना हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छभने ५० जनाभन्दा बढी घाइते भएका छन्। दुईवटा यात्रुवाहक ट्रेन एकआपसमा ठोक्किएको हो। दुर्घटनामा दुवै ट्रेन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।
बंगलादेशका राष्ट्रपति अब्दुल हामिद र प्रधानमन्त्री शेख हसिना वाजेदले दुर्घटना र यात्रुको मृत्युपछि शोक व्यक्त गरे। घाइतेमध्ये २८ जनाको अवस्था भने गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । चटगाउँका लागि गुडीरहेको रेल र राजधानी ढाका जाँदै गरेको रेल स्थानीय समयअनुसार बिहान सवा २ बजेतिर दुर्घटनामा परेका हुन्। राजधानी ढाकाबाट १ सय किलोमिटर पर दुर्घटना भएको हो। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।