दुई मुलुकबीचमा उत्तेजना फैल्याउने काम कसैले नगरौंः प्रचण्ड

२५ कार्तिक २०७६, सोमबार १४:४५

काठमाडौँ , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताउनु भएको छ ।

अध्यक्ष दाहालले भारतले नेपालको कालापानीमा भूमि मिचेको स्पष्ट पार्दै ती समस्या समाधानका लागि तत्काल दुई मुलुकबीच उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताउनु भएको हो ।
उहाँले सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो समस्यालाई अन्तराष्ट्रियकरण गरिहाल्न भने नमिल्ने तर्क गर्नु भयो ।
अध्यक्ष दाहालले सीमा समस्याको विषयलाई लिएर दुई मुलुकबीचमा उत्तेजना फैल्याउने काम कसैले गर्न नहुने बताउनु भयो ।
समितिको बैठकमा अध्यक्ष दाहालले लिम्पियाधुरामा नेपाली भूमि मिचिएको र सो समस्या समाधानका लागि आफूले प्रधानमन्त्री हुँदा चीन र भारत दुवै मुलुकसँग कुरा गरेको पनि बताउनु भयो ।