स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै

२४ कार्तिक २०७६, आईतवार १०:१८

काठमाडौँ, सहमतिको प्रयास विफल भएपछि नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मीहरुको संगठन नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्व छनौट गर्न चुनाव हुने भएको छ । चुनाव अहिले विहान ८ बजे देखि हुने बताइएको छ ।

यसपटक संघको नेतृत्व गर्न अहिलेका अध्यक्ष रामजी घिमिरे र सह अध्यक्ष ओमप्रसाद उपाध्यायको उम्मेद्धारी परेको छ । दुई कार्यकाल अध्यक्ष खाईसकेका घिमिरे पछिल्लो संस्थापन पक्ष मानिन्छन् । उपाध्याय भने पौडेल र कोइराला पक्ष मानिन्छन् । संगठनमा समेत उपाध्यायलाई स्वच्छ छवि र सरल व्यक्तित्वको रुपमा लिने गरिन्छ ।

यस्तै अध्यक्षमा उठ्ने भनेर अर्का सह अध्यक्ष कृष्ण नागिला र सल्लाहकार धनप्रसाद पौडेलको पनि नाम आएको थियो । तर उनीहरुले उपाध्यायलाई समर्थन गर्दै उम्मेद्धारी फिर्ता लिएका छन् ।

संघको बरिष्ठ उपाध्यक्षमा दीपक मुडभरीले उम्मेद्धारी दिएका छन् । पहिलेका महासचिव मुडभरीसंग प्रतिस्पर्धा गर्न रामचन्द्र साह उठेका छन् । मुडभरी उपाध्याय प्यानलबाट हुन भने साह र शर्मा घिमिरे प्यानलबाट उम्मेद्धारी दिएका हुन् । यस्तै संघको महासचिव पदमा दीपकप्रसाद भट्ट र शंकर कँडेलेको उम्मेद्धारी परेको छ ।

महिला उपाध्यक्षमा रमिला चौलागाईँ र मिरा नेपालको उम्मेद्धारी परेको छ । यस्तै कोषाध्यक्षमा राजकुमार तिवारी र सुरेश पासवानको उम्मेद्धारी परेको छ ।

देशभरबाट आएका ७५० बढी प्रतिनिधिले चुनावी प्रक्रियाबाट नयाँ कार्यासमिति छनौट गर्ने बताइएको छ । हरेक चार चार बर्षमा हुनुपर्ने अधिवेशन यसपटक भने दुई बर्ष ढिला गरि भएको छ ।

यसपटक पनि अन्तिम समयसम्म अधिवेशन हुने कि नहुने भन्ने अन्योल थियो । यसमा अधिकांशले बर्तमान अध्यक्ष घिमिरेलाई दोष दिएका छन् । संघमा अहिले १८ हजार बढी सदस्य रहेको छ । नेपाली हेल्थबाट