सर्वदलीय बैठक सम्पन्नः सीमा विवाद कुटनीतिक माध्यमबाट सुल्झाउन प्रधानमन्त्रीलाई सुझाव

२३ कार्तिक २०७६, शनिबार २०:१४

काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटारको सर्बदलीय बैठकमा नेताहरुले सीमा विवाद राजनीतिक र कुटनीतिक माध्यमबाट सुल्झाउन सुझाव दिएका छन्।

भारतले नेपाली भूमि कालापानी र लिपुलेकलाई आफ्नो नयाँ नक्सामा समावेश गर्दा विरोध चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारका लागि सर्बदलीय बैठक बोलाउनु भएको थियो । बैठकमा सहभागी भएर समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्ष प्रकाशचन्द्र लोहनी, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायत सहभागी रहनु भएको थियो ।

पूर्वप्रधानमन्त्री भट्टराईले कालापानी, लिपुलेक लगायत नेपाल–भारतबीचको सीमा विवादबारे दुई देशका प्रधानमन्त्रीबीचमै छलफल हुनुपर्ने बताउनु भयो ।
राप्रपा अध्यक्ष थापाले परराष्ट्र सचिवको बैठक छिटो भन्दा छिटो बोलाउनुपर्ने बताउनु भयो ।

राप्रपा संयुक्तका अध्यक्ष लोहनीले नेपाली भूमि छोड्न नहुने भन्दै सम्वादबाटै निष्कर्षमा पुग्नुपर्ने बताउनु भयो ।
मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले सीमा विवादको न्यायोचित सहमति खोज्नुपर्ने बताउनु भयो ।