आज विहान मुस्ताङमा हिउँ पर्यो

२२ कार्तिक २०७६, शुक्रबार १३:४३

ठिनी , शुक्रबार बिहानदेखि उपल्लो मुस्ताङमा हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताउनु भयो ।

चराङमा बिहानसम्म पानी परिरहेको उहाँले बताउनु भयो । पानी र हिमपातका कारण चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ । बस्तीमा दुई–तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ ।

चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना प्रभावित भएका छन् ।उपल्लो मुस्ताङका बासिन्दाहरु चिसो छल्न बेँसी झर्न थालेका छन् । पोखरा, काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँमा जान थालेका छन् ।