वाणगंगा र चिनको छिचौँ नगरपालिका बीच चार बुँदे समझदारी

१८ कार्तिक २०७६, सोमबार १५:४६


कपिलवस्तु, कपिलवस्तुको वाणगंगा नगरपालिका र चिनको छिचौँ नगर जनसरकारबीच हस्ताक्षर भएको छ । दुई नगर बीच भगिनी सम्बन्ध कायम गर्ने उद्धेश्यले चार बुँदे समझदारी पत्रमा आइतबार अपराह्न हस्ताक्षर भएको हो ।
वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु र छिचौँ नगर जनसरकारका उपप्रमुख फु चिन क्वाङले समझदारी पत्रमा हस्ताक्षर गरेपछि दुई नगर बीच भगिनी सम्बन्ध औपचारिक रुपमा अगाडी बढेको हो ।
हस्ताक्षर भएको समझदारी पत्रमा समता र पारस्परिक हितका लागि दुवै पक्षले सहकार्य गर्ने, दुवै पक्षबीच शिक्षा, स्वास्थ्य, व्यापार, विज्ञान प्रविधि, पर्यटन र आधुनिक कृषिको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने, दुवै पक्षका सरोकारका विषयलाई नियमित सम्पर्क समन्वय मार्फत सहकार्य बढाउने, दुवै नगरले भगिनी शहरको सम्बन्धलाई स्थापित गर्न पर्याप्त भूमिका खेल्ने लगायतका छन् ।
विगत तीन बर्ष देखि वाणगंगाले छिचौँसंग भगिनी सम्बन्धका लागि पहल गर्दै आएपनि आज आएर यसले औपचारिकता पाएको हो । शनिबार चिनको छिचौँबाट भगिनी सम्बन्धका लागि नगर जनसरकारका उप प्रमुख क्वाङ, महासचिव उ किङ्ग्वा सहितको ५ सदस्यिय टोली वाणगंगा आएको थियो ।
भगिनी सम्बन्धका लागि समझदारी पत्रमा हस्ताक्षर पछि बोल्दै वाणगंगा नगरपालिकाका नगर प्रमुख थारुले छिमेकी मित्र राष्ट्र चिनको छिचौँ नगरपालिकासंग भएको सम्झौता ऐतिहासिक भएको बताउनुभयो । यसले दुई नगरबीच मित्रता बढ्ने विश्वास गर्दै यो सम्झौतालाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो ।

वाणगंगाको शिक्षा, स्वास्थ्य र भौतिक विकासमा भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
छिचौँ नगर जनसरकारका उप प्रमुख क्वाङले आइतबार भएको सम्झौताले दुरगामी महत्व राख्ने बताउनुभयो । नेपाल असल मित्र भएको भन्दै अक्टुरमा आफ्ना देशका राष्ट्रपतिको नेपाल भ्रमणले झन मित्रता प्रगाढ बनाएको बताउनुभयो ।
छिचौँ र वाणगंगाका कला, संस्कृतीको आदानप्रदान गरी भगिनी सम्बन्धलाई थप मजबुत बनाउँदै लग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । बुद्धको भूमि कपिलवस्तु आउन पाउँदा खुसी लागेको भन्दै लुम्बिनीलाई माया गरे जत्तिकै वाणगंगाबासीले छिचौँलाई पनि माया गर्नेमा आफु आशाबादी रहेको बताउनुभयो । भगिनी सम्बन्धले दुई देशका दुई नगर एक परिवार भएको आफुले महशुस गरेको सुनाउनुभयो । नगर भित्रका ऐतिहासिक तथा धार्मिक स्थलहरुमा आफुले गरेको भ्रमणमा नगरवासीको न्यायो माया र सत्कार पाएका बताउनुभयो ।
हस्ताक्षर कार्यक्रममा विभिन्न जातजातीका झाँकी तथा नृत्य देखाइएको थियो भने वाणगंगा नगरपालिका र छिचौँ नगरपालिकाको भिडियो डकुमेन्ट्री पनि प्रस्तुत गरिएको थियो । वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले छिचौँका नगर उप(प्रमुख क्वाङ, महासचिव किङ्ग्वा लगायतलाई नेपाली ढाका टोपि लगाई दिनुभएको थियो भने दुई नगरबीच एक अर्कालाई मायाको चिनो हस्तान्तरण गरिएको थियो । कार्यक्रम नगरपालिकाका बैदेशिक समन्वय समितीका संयोजक गुणनिधि भुसालको सहजीकरण र नगर भित्रका विभिन्न स्थलको भ्रमण कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी समझदारी पत्रमा हस्ताक्षर गर्नु पूर्व वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, उप(प्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, बैदेशिक समन्वय समितिका संयोजक गुणनिधी भुसाल, वडाध्यक्षहरुको उपस्थितीमा भेटवार्ता भएको थियो ।
यसैबीच छिचौँ प्रान्तका उप प्रमुख क्वाङ, महासचिव उ किङ्ग्वा लगायतले टोलीलाई विहान पर्यटकीय स्थल घुमाइएको थियो । नगरपालिकाका नन्दनगर कैलाश आश्रम गुरुकुल, कपिलधाम, लक्ष्मणघाट, कपिलवस्तु नगरपालिकाको जगदीशपुर ताल र तिलौराकोटमा टोलीलाई घुमाइएको हो । उक्त कार्यक्रममा वैदेशिक समन्वय समितिका सल्लाहाकार संयोजक डा शागर न्यौपानेले सहजीकरण गर्नुभएको थियो । ईखवर नेपाल डटकमबाट