सिन्धुपाल्चोकबस दुर्घटनाः मृत्यु हुनेको संख्या १७ पुग्यो

१७ कार्तिक २०७६, आईतवार १९:१४

सिन्धुपाल्चोक , दोलखाको मागादेउरालीबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटे सुनकोशी नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काप्लेका अनुसार नदीमा खसेको बसबाट १७ जना यात्रुको शव निकालिएको छ भने अन्य यात्रुहरु नदीमा हराइरहेको बताइएको छ ।

बस नदीमा पुरै डुबेको थियो । सो कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । केही यात्रु नदीले बगाएको जानकारी प्राप्त भएको छ । मृतकको सनाखत हुँदै गरेको प्रहरीले बताएको छ । केही शव नदीले बगाउँदै गरेको अवस्थामा निकालिएको छ ।

मृतकहरुमा बढी महिला र बालबालिका रहेका छन् । नदीमा डुबेको सो बस साँझ ५ बजेतिर सडकमा उतारिएको छ । उतारिएको बसमा कोही पनि यात्रु नभेटिएको डिएसपी काप्लेले बताउनु भयो ।

दुर्घटनामा परेका चालक धनबहादुर तामाङ र एक बालकको उद्धार गरिएको छ । चालक तामाङको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि धुलिखेल अस्पताल रिफर गरिएको छ । बगाएका यात्रुहरुको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । उद्धार गरिएका मध्य ६ जना गम्भिर घाइते छन् ।

घाइतेहरुको दोलालघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्र, खाडीचौरको सदाबहार अस्पताल, धुलिखेल अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

नदीमा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उद्दार तथा खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।