महराको बयान सकियो, थुनछेक बहस आइतबार

१५ कार्तिक २०७६, शुक्रबार १९:२२

काठमाण्डौ पूर्व सभामुख कृष्णबहादुर महराको शुक्रबार जिल्ला अदालत काठमाण्डौमा बयान सकिएको छ ।

महरालाई बिहीबार बयानका लागि अदालत लगिएको थियो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा महराको अदालती बयान गराइएको अदालतका फैसला कार्यान्वयन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो ।

बिहीबार ढिला गरी महराविरुद्ध अभियोग दर्ता भएकाले बिहीबार बयान लिन नसकिएको र शुक्रबार बयान लिइएको हो । महराविरुद्ध सरकारी वकिल कार्यालयले बिहीबार बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप दुई वर्ष गरी सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो ।

महराको बयान सकिएको र अब थुनछेक बहसका लागि आइतबार अदालतमा उपस्थित गराउने अनुमति दिइएको पनि पोखरेलले जानकारी दिनुभयो ।