सरकारले माग पुरा नगरुन्जेल डडेल्धुरा छोडदिन्ः डा केसी

२५ कार्तिक २०७६, सोमबार १४:१३

डडेल्धुरामा अनसनरत बरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्यवस्था बिग्रदै गएपछि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

केसीले काठमाडौं जान नमानेपनि प्रशासनले भने जबर्जस्ती लैजाने तयारी गरेको छ । केसीलाई काठमाडौं ल्याउन हेलिकप्टर डडेल्धुरा पुगेको छ।

चिकित्सा शिक्षामा सुधारको माग गर्दै केसी पटकपटक अनसन बस्दै आएका छन् । यसपटक १७ औं चरणको आमरण अनसन डडेल्धुरामा जारी छ । उहाँ ८ दिनदेखि अनसनमा हुनुहुन्छ ।

स्वास्थ्यमा समस्यादेखिएपछि केसीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य थप जटिल बन्दै गएपछि डडेल्धुरा अस्पतालले उहाँलाई रेफर गनृुपर्ने बताएपछि काठमाडौंबाट हेलिकप्टर पुगेको हो । तर केसीले भने डडेल्धुरा छोड्न मानिरहनु भएको छैन ।
उहाँले सरकारले आफ्नो माग पुरा नगरुन्जेल डडेल्धुरा नछोड्ने बताउनु भएको छ ।