राज्यबाटै उपेक्षित छ, दार्चुलाको तिंकर र छांगरु

२७ कार्तिक २०७६, बुधबार १०:००

दार्चुला, सीमापारिका गाउँ भनेर फरक नपर्ला दार्चुलाको तिंकर र छांगरु । १६ कात्तिकमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भएको भन्दै नक्सा सार्वजनिक गरेपछि यी गाउँ पनि सीमापारिका गाउँजस्तै भएका छन् ।

हुन पनि हो, यसअघि भारतको भनिरहेका कुटी, नावी र गुन्जी गाउँका बासिन्दाले नेपालको बैतडी आएर तिरो तिरेको स्रेस्ता अहिले पनि मालपोत कार्यालयको रेकर्डमा भेटिन्छ । पछिल्लो समय भारतले तिंकर र छांगरु गाउँ समेत आफ्नो बनाउने गरी नक्सा बदलेपछि अहिले यसको नेपालमा विरोध भइरहेको छ ।

मालपोत कार्यालय दार्चुलाले भूमि सुधार तथा व्यवस्थापन विभागलाई २०७३ असारमा पठाएको श्रेस्ता अनुसार कुटी, नावी र गुन्जी गाउँको मोठ श्रेस्ता प्रतिलिपि विभागसँग सुरक्षित छ । २०१८ सालपछि भारतले कालापानी क्षेत्रमा रहेका तीन गाउँलाई आफ्नो भनी दाबी गरेको छ ।

शुरुवातीदेखि दार्चुलामा मात्र बसोबास गर्ने सौका समुदाय यस क्षेत्रमा सीमा रक्षक भएर बसेको छ । तर नेपाल पक्षले आफ्नो बलियो संयन्त्र बनाउन नसक्दा यो क्षेत्र राज्य सरकारको नजरमा उपेक्षित बनेको छ ।

सामरिक महत्वको क्षेत्रमा राज्यले अहिलेसम्म बलियो सुरक्षा उपस्थित गराएका छैन । बाह्रैमास सीमाको सुरक्षामा न त राज्यले नेपाली सेना, न सशस्त्र प्रहरी नै पठाउने प्रयास गर्यो ।

नेपाल प्रहरी छमासे रुपमा तिंकरको छायालेक र छांगरुको सीतापुलमा बस्ने गर्छ । प्रहरीको काम नियमित सञ्चार सम्पर्कमा बस्नुपर्ने हो । त्यहाँ भएको गतिविधिबारे जानकारी गराउने हो । तर, यो क्षेत्र (तिंकर छायालेकमा) बस्ने प्रहरीको सञ्चार सम्पर्क हुँदैन । कहिलेकाहीँ हप्तौं दिनसम्म दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा रहेको तिंकर प्रहरी चौकी सम्पर्कमा हुन सक्दैन ।

‘मोबाइल फोनले काम गर्दैन । प्रहरीको सञ्चार सेट पनि समात्दैन,’ प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले भने, ‘हामीले सम्पर्क गरे लाग्दैन, तिंकरबाटै सम्पर्क गरे मात्र त्यस क्षेत्रको जानकारी आउँछ । उनीहरूले नै महत्वपूर्ण जानकारी गराउनुपर्ने विषय भए मात्र फोनमार्फत बिहानको समयमा सम्पर्क गर्न डाँडाकाडा चहार्नुपर्छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।