भारतीय नक्साले दुई देशबीच पुनः सीमा विवाद

२१ कार्तिक २०७६, बिहीबार १०:०२

बिष्णुप्रसाद शर्मा,

काठमाडौं , भारतले नेपालको जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा व्यापक बिरोध सुरु भएको छ । लिपुलेकसहितको कालापानीमा नेपालले विगतदेखि दाबी गर्दै आइरहेको छ । गत आइतबार जारी गरेको राजनीतिक नक्सामा विवाद उत्पन्न भएको हो । यो बिषयमा सरकार गम्भीर बन्नु पर्ने आबश्यकता देखिएको छ । अहिलेसम्म सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन । भारतीय नक्साले दुई देशबीच पुनः सीमा विवाद उत्पन्न हुने संकेत देखिएको छ । भारतले जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्रलाई भारतीय भू–भागको रूपमा समावेश गरेको देखिएको छ । कालापानीको बिषयमा लामो समयदेखि विवाद रहँदै आएको छ ।

भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ ।

‘सुस्ता र कालापानीको विषयमा पनि विवाद छ । सन् १९६२ मा भारत–चीन युद्धको समयमा कालापानीमा भारतले सैनिक ब्यारेक निर्माण गरेको थियो । नेपालमाथि चीनले प्रभाव पारेर सो क्षेत्रबाट आफूमाथि आक्रमण गर्न सक्ने खतरा रहेका कारण सो ब्यारेक हटाउन अहिलेसम्म भारतले चासो देखाएको छैन ।

कालापानी क्षेत्रमा आफ्नो प्रभुत्व कायम राख्न भारतीय पक्षले कृत्रिम नदीसमेत निर्माण गरेको छ । भारत त्यसैलाई काली नदीको उत्पत्तिस्थल दाबी गर्छ र कालापानी नियन्त्रणमा राखेको छ । यसअघि भारत र चीनबीच सन् २०१४ लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने विषयमा भएको सहमतिको नेपालले विरोध गरेको थियो । नेपालले सन् १८१६ भएको सुगौधी सन्धि विपरीत भन्दै आपत्ति जनाएको छ ।
महाकाली एकीकृत सन्धि २०५३ संसद्बाट पारित हुँदा पनि यो विषय उठेको थियो । नदीको उद्गमस्थलको पहिचानबिनै त्यो सन्धि पारित गरिएको थियो । सीमा विवाद समाधान गर्नेतर्फ दुवै देशले खासै चासो दिएको देखिँदैन ।भारतीय मिचाहा प्रवृति बिरुद्द सरकार बोल्न सकेको छैन । तर जनता सडकमा आइसकेका छन ।

नेपाली काँग्रेसले सरकारको धारणा माग्दै दुबै भूमि नेपालको अभिन्न अंग भएको भन्दै यसमा उठाइएको प्रश्न अस्वीकार्य भएको बताएको छ । सत्तारुढ दलकै नेताले पनि बिरोध गरेका छन् । अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले जारी गरेको आफ्नो राजनैतिक भूमिको नक्सा सार्वजनिक भएसँगै नेपालमा विरोध सुरु हुनु स्वभाविक कुरा हो । भारतद्वारा जारी भएको नयाँ नक्सामा नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप गरेको भन्दै देशभक्त नेपाली जनताले विरोध जनाएका छन ।

लिम्पीयाधुराबाट उदगम नदी तिर नाभी , गुञ्जी भारततर्फ पर्छ भने लिपुलेक बाट उद्गमी नदी कालापानी माथिल्लो कावा , तल्लो कावा छाङरु र तिजुकर नेपालमा पर्छ । लिपुलेक भञ्जायाङ चीन र नेपालको सीमाना हो । कालीको मुहान उद्गम स्थल लिम्पियाधुरा हो या लिपुलेक भञ्ज्याङ हो या कृतिम कालीनदीको मूर्ति भएको हो भन्र्ने बिषयमा बिवाद रहेको छ । पुराना ऐतिहासिक कागजात , सुगौलि सन्धिका नक्सा , लेखोट आदीले काली नदीको मुहान लिम्पियाधुरा देखाएको छ ।

तत्कालिन श्री ५ को सरकारले लिपुलेकलाई मुहान मान्दै आएको थियो । तर ऐतिहासिक नक्सा अनुसार लिम्पीयाधुरा या लिपुलेक कुन हो भनी हाल छानविन हुदै छ । भारत पक्षले चाही कालापानी आफनो सीमा भित्र पार्न कृतिम कालिको मूर्ति बनाई त्यहाँ बाट उम्रेको सानो तिरतिरे खोलालाई काली हो भनेको छ । नेपालले सन् १८५० तथा १८५६ का नक्सालाई आधारभुत नक्सा मानेको र भारतले सन् १८७९ नक्सालाई आधार लिन भनेको छ । नेपाल भारत सीमामा २६ जिल्ला पर्दछन् जस मध्ये २३ जिल्लामा ७१ ठाउँमा मिचेको छ । अहिले अझै थपिएको होला जस मध्ये ६० हजार ६ सय ६२ हेकटर जमिन नेपालले गुमाईसकेको र भारतले जवरजस्ती लिईसकेको छ । सुगौली सन्धि र १९५० को सन्धि परराष्ट्र मन्त्री हरायो भन्छन्, राजाले पो लगेकी भन्छन् यो कस्तो गैरजिम्मेवारीपन हो । शर्मा , नेपाल संरक्षण अभियानका संयोजक हुनुहुन्छ ।