घट्यो रेमिट्यान्स, खुम्चियो आर्थिक गतिविधि

६ मंसिर २०७६, शुक्रबार १०:१३

काठमाडौं, चालु आर्थिक वर्षको प्रथम तीन महिना (साउन–असोज) मा रेमिट्यान्स घटेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा गर्त वर्षको यसै अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ४ .९ प्रतिशत घटेको उल्लेख छ।

गत वर्ष रेमिट्यान्स आप्रवाह ३७ प्रतिशत वृद्धि भएको थियो। मुलुकको अर्थतन्त्र चलाएमान बनाउने मूल इन्जिन मानिएको रेमिट्यान्स अब बढ्ने सम्भावना कम भएको व्यवसायी बताउँछन्।

‘यसअघि दसैंमा २५–३० प्रतिशत बढ्ने गरेको थियो’, नेपाल विप्रेषक संघका अध्यक्ष एवम् आईएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल भन्छन्, ‘यो वर्ष त दसैं आएको र गएको नै थाहा भएन। ’

उनले यसरी चार्डपर्वको मौसममा पनि रेमिट्यान्स घट्नुको कारण खोजिरहेको बताए। ‘सबै वातावरण सकारात्मक हुँदासमेत रेमिट्यान्स घटेको छ। यसले अब रेमिट्यान्स उत्कर्षमा पुगेर घट्न थालेको संकेत गरेको छ’, उनी भन्छन्।

भन्सारमा कडाइ गर्नेदेखि सम्पत्ति शुद्धीकरणमा चनाखो भएको सरकारले अनौपचारिक अर्थतन्त्र खुम्च्याउन सफल भएको व्यवसायी बताउँछन्। यस्तो अवस्थामा पनि रेमिट्यान्स घट्नुले विदेशमा नेपालीको आम्दानी घटेको र विदेश जानेको संख्या नै कम हुँदाको असर देखिएको पोखरेल बताउँछन्।

राष्ट्र बैंकले पनि गत वर्ष विदेश श्रम स्वीकृति लिनेको संख्या झण्डै ३५ प्रतिशत घटेको तथ्यांक सार्वजनिक गरेको छ।नेपालमा रेमिट्यान्स आय कटौती हुँदा आन्तरिक लगानी क्षमतामा समेत नकारात्मक प्रभावपर्ने बैंकर बताउँछन्।

‘सरकारले पैसा खर्च गर्न सकेको छैन। निक्षेपको सबैभन्दा ठूलो स्रोत रेमिट्यान्स घट्दा बैंकमा पैसा अभाव झन् चर्किने अवस्था आउँछ’, एक बैंकर भन्छन्। उनले यस्तो अवस्थाले स्वदेशी लगानी बढ्न नसक्ने र रोजगारी सिर्जना तथा उच्च आर्थिक वृद्धिको सरकारी लक्ष्यमा समेत प्रभाव पर्ने उनी बताउँछन्।

राष्ट्र बैंकको तथ्यांकले पेट्रोलियम पदार्थ, मेसिनरी र पार्टपूर्जा तथा विद्युतीय उपकरणको आयात खुम्चिएको देखाएको छ। यस्तै कच्चा पाम तेल, स्टिलका पाता, कच्चा फलाम ९बिलेट०, यातायात उपकरण र पार्टपूर्जाको समेत आयात घटेको छ।

पेट्रोलियम, मेसिनरी र औद्योगिक कच्चापदार्थको खपत घट्नुलाई अर्थतन्त्र संकुचनको बलियो आधार मानिन्छ। सरकारी अधिकारीले अर्थतन्त्रको विस्तार नघट्ने जिकिर गरिरहँदा केन्द्रीय बैंकको तथ्यांकले यस्तो देखाएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।