कार्यस्थलमा निदाउने कुरामा बहस

१० मंसिर २०७६, मंगलवार १०:५१

एजेन्सी , अमेरिकी सरकारले कार्यालयमा निदाउने विषय अस्वीकार्य रहेको बताएको छ । तर, विज्ञहरूले यसबारे पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । अमेरिकी सरकारले कार्यालयमा निदाउनेहरूविरुद्ध कडा रूपमा प्रस्तुत हुने निर्णय गरेको छ । संघीय कर्मचारीहरूको कार्यालयमा सुत्ने प्रवृत्तिलाई लिएर लामो समयदेखि चिन्ताहरू व्यक्त हुने गरेपनि विगतमा कहिल्यै पनि यसमाथि प्रतिबन्ध लगाइएको थिएन । यसै महिनाको सुरूमा जारी गरिएको एउटा निर्देशिकामा भनिएको छ, ‘सबै कर्मचारीहरूलाई सम्बन्धित निकायका अधिकारीको अनुमति प्राप्त भएको अवस्थामा बाहेक संघीय भवनहरूमा निदाउन प्रतिबन्ध लगाइएको छ ।’

अहिलेसम्म यस्तो निर्देशन जारी गर्नुको कारण खुलेको छैन । अधिकारीहरूले यसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेका छन् । तर, अधिकारीहरूले निदाएका कर्मचारीहरूमाथि कारबाही गर्ने नीति लिएको यो पहिलो घटना भने होइन । सन् २०१८ मा क्यालिफोर्निया राज्यको अडिटरको कार्यालयले एउटा प्रतिवेदन निकालेको थियो जसमा सवारीसाधनसँग सम्बन्धित विभागका एकजना कर्मचारी दिनको तीन घण्टासम्म सुत्ने गरेको पाइएको थियो । उक्त प्रतिवेदनले ती कर्मचारी निदाएका कारण वार्षिकरूपमा झण्डै ४० हजार डलर बराबरको क्षति पुगेको उल्लेख गरेको थियो ।

त्यसमा ती निदाउने कर्मचारीका कारण उनकी सहकर्मीले उनको साटो काम गर्नुपरेको र सुस्तता परिपूर्ति गरिदिनुपरेको उल्लेख गरेको छ । त्यसरी निदाउने कर्मचारीलाई कुनै किसिमको नसिहत दिइएको भने थिएन । उनका सुपरिवेक्षकहरूले ती कर्मचारीमा कुनै किसिमको स्वास्थ्य समस्या रहेकाले उनी त्यसरी निदाउने गरेकोमा चिन्तित थिए ।

विज्ञहरू यसो भन्छन्
निदाउने कर्मचारीहरूका कारण आमरूपमा कार्यलयमा निम्तने कार्यक्षमताको ह्रासका बारेमा धेरैले चिन्ताहरू व्यक्त गर्ने गरे पनि कैयौँले त्यसरी छोटो समय निदाउँदा त्यसले उत्पादन क्षमता घटाउने नभई बढाउने विज्ञहरू तर्क गर्छन् । अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनका पूर्वअध्यक्ष डाक्टर लरेन्स इपस्टाइन भन्छन् झण्डै सात करोड अमेरिकीहरूमा निद्रासम्बन्धी समस्या रहेको छ । इन्डियानामा अवस्थित बल स्टेट युनिभर्सिटीले हालै गरेको अध्ययनले डेढ लाख मानिसहरूको सुत्ने अवधिबारे अध्ययन गरेको थियो ।

त्यसमा प्रत्येक रात सात घण्टा वा त्यस भन्दा कम सुत्ने व्यक्तिहरूको संख्या सन् २०१८ मा बढेर ३५ दशमलव ६ प्रतिशत पुगेको थियो । उक्त संख्या सन् २०१० मा ३० दशमलव ९ प्रतिशत थियो। आफूले पर्याप्त सुत्न नपाउने गरेको भन्ने गुनासो गर्नेमध्ये आधा प्रहरी अधिकारी र स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत मानिसहरू थिए ।

‘कतिपय कम्पनीहरू यस विषयमा अझ बढी सचेत भइरहेका छन् र यसलाई कसरी सम्बोधन गर्ने भन्ने उपायहरू निकालिरहेका छन् । तर, दुर्भाग्यवश हाम्रा सरकारी निकायहरूले यसमा अग्रणी भूमिका खेलिरहेका छन् जस्तो मलाई लाग्दैन्,’ इपस्टाइन भन्छन् । पर्याप्तरूपमा नसुत्दा कैयौँ स्वास्थ्य समस्याहरूजस्तै मोटोपन, मधुमेह, मुटुसम्बन्धी रोगहरू अनि पक्षघात र त्यसबाहेक चिन्ता र डिप्रेसनजस्ता मानसिक स्वास्थ्य समस्याहरू देखापर्ने बताइन्छ ।

सन् २०१६ मा ¥यान्ड कोअपरेसनले गरेको एउटा अध्ययनले निद्रा नपुगेका कामदारका कारण अमेरिकी अर्थतन्त्रमा प्रत्येक वर्ष ४११ अर्ब डलर बराबरको असर पर्ने र त्यसबाट काम गर्ने क्षमतामा पनि ह्रास आउने गरेको देखाएको थियो । इपस्टाइनजस्ता विज्ञहरूले कर्मचारीहरूलाई कार्यस्थलमा छोटो अवधिका लागि सुत्न दिइनुपर्ने तर्क गर्छन् ।

‘निद्रा नपुगेका व्यक्तिहरूले काम गर्दा आफ्नो उत्कृष्ट काम दिन सक्दैनन् र उनीहरूका कारण कार्यस्थलमा दुर्घटनाको जोखिम पनि हुन्छ । उनीहरूमा बढी स्वास्थ्य समस्याहरू हुने भएकाले त्यसले कम्पनीहरूलाई पनि नोक्सान गराउँछ ।’

अन्य देशले के गरिरहेका छन्
अमेरिकामा कडा व्यवस्था भए पनि अरू देशहरूमा कार्यस्थलमा सुत्ने विषयमा कठोर व्यवस्थाहरू छैनन् । जापानमा लामो अवधि काममा खटिने कर्मचारीहरूले आराम महसुस गरून् भनेर कम्पनीहरूले बाहिरको आवाज नआउने खालका आरामदायी कक्षहरू स्थापना गरिरहेका छन् । यो अवधारणा सुरु भएको छ तर यसले विस्तारै गति लिदैँ छ ।

बेन एन्ड जेरी नामक आइसक्रिम कम्पनीले पनि छोटो समयका लागि निदाउन मिल्ने त्यस्ता कक्षहरू स्थापना गरेको छ । डा भिन्ची रुम भनिने ती आराम कक्ष विलासी नभए पनि त्यहाँ एउटा सोफा र पातलो कम्बल पनि हुने बताइएको छ । कर्मचारीहरूलाई २० मिनेटको समय मात्रै उक्त कक्षमा आराम गर्न दिने व्यवस्था छ र त्यहाँभन्दा बढी अवधि सुत्नुपरेमा उनीहरूलाई घर पठाउने गरिएको बताइन्छ ।

कतिपय उत्तर अमेरिकी कम्पनीमा त आराम गर्ने यस्तो सुविधा उपलब्ध गराउने स्टुडियोहरू नै खुल्न थालेका छन् । क्यानडाको पहिलो यस खालको स्टुडियो ’न्याप इट अप’ ले हालै सेवा प्रदान गर्न थालेको छ । यसकी संस्थापक मेहजाबीन रहमानले बंैंकमा लामो समय काम गर्दा आफूलाई स्टुडियो खोल्ने उपाय आएको बताइन् ।

टोरन्टोको व्यस्त क्षेत्रमा रहेको उनको स्टुडियोमा जो कोहीले झण्डै साढे सात डलर तिरेर एउटा ओछ्यान २५ मिनेटका लागि भाडामा लिन सक्छन् । त्यस्ता कक्षहरूमा गोपनियता कायम हुने गरी ठूला पर्दाहरू राखिएको र मीठो सुगन्ध आउने खालको व्यवस्था गरिएको बताइएको छ । (बिबिसीबाट)