औषधिमा विकृतिः दुई भारतीय उद्योग जीएमपीमा असफल

३ मंसिर २०७६, मंगलवार ०९:३५

काठमाडौं, नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमध्ये दुई वटा भारतीय उद्योगहरु गुड म्यानिफ्याक्चर प्राक्टिस (जीएमपी) मापदण्डमा फेल भएका छन् ।

नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमा गुड म्यानिफ्याक्चर प्राक्टिस (जीएमपी) मापदण्ड लागू भएको छ कि छैन् भन्दै गरेको स्थलगत निरीक्षणमा दुई भारतीय उद्योग फेल भएको औषधि व्यवस्था विभागले जनाएको छ ।

विभागको टोलीले गत असारमा भारत, बंगलादेश, भियतनाम, युक्रेन, जोडर्न र फिलिपिन्समा रहेका विभिन्न २३ वटा उद्योगमा पुगी जीएमपी मापदण्डको निरीक्षण गरेको थियो ।

विभागले सार्वजनिक गरेको प्रतिवेदनमा पटना विहारमा रहेको श्री वैद्यनाथ आयुर्वेद भवन प्रालि र नागपुर भारतमा रहेको युनिजुलेस लाइफ साइन्सेज लिमिटेड रहेको उल्लेख छ ।

यी दुबै उद्योगले आयुर्वेदिक औषधि उत्पादन गरी नेपालमा निर्यात गर्ने गरेका थिए । मापदण्ड पूरा नगरेपछि यी दुवै कम्पनीले उत्पादन गर्ने औषधिको दर्ता विभागले गर्दैन ।

प्रतिवेदनले ती कम्पनीबाट औषधि आयात नहुने जनाएको छ । विभागका निमित्त महानिर्देशक पानबहादुर क्षत्रीका अनुसार ती कम्पनीले उत्पादन गर्ने प्रोडक्ट दर्ता नगरिने बताए ।

उनले भने, ‘हामीले अनुगमनका क्रममा जीएमपी मापदण्ड पूरा नगरेका औषधि उद्योगको प्रोडक्ट दर्ता गर्दैनौं । अब नयाँ दर्ता हुने कम्पनीको जीएमपी कम्प्लाई हुनैपर्छ । पुरानोले पनि सो मापदण्ड पु¥याउनै पर्छ । विभागको टोलीले २३ वटा निरीक्षण गर्दा दुईवटाको मापदण्ड पुगेन ।’

निमित्त महानिर्देशक क्षेत्रीले भने, ‘वैद्यनाथ कम्पनीले रि अडिटका लागि पुनः निवेदन दिन पाउँछ ।’ १५ साउनसम्म अनुगमनका लागि विभागबाट टोली खटिएको थियो ।

विभागले नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमा जीएमपी मापदण्डको स्थलगत अनुगमन गर्दै आएको छ । नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीको संख्या ३ सय ५० भन्दा बढी छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।