काठमाण्डौ , डा गोविन्द केसीले सत्याग्रहसहितको आन्दोलन कात्तिक १८ गतेदेखिसुरु गर्ने बताउनुभएको छ ।
यही कात्तिक ७ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा अवैध रुपमा असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई कलेज प्रशासनले भाडाका गुण्डा लगाएर आक्रमण गरेको भन्दै डाक्टर केसीले त्यस घटनाको भर्त्सना गर्नु भएको छ ।
डा केसीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, कलेज प्रशासनले भाडाका गुण्डाहरु ल्याएर ढुंगा, लाठी र रड प्रयोग गरी आक्रमण गराएको छ । जायज माग पूरा गराउनका लागि आन्दोलनरत मेडिकल विद्यार्थीहरुमाथि मेडिकल माफियाले गराएको यस्तो सांघातिक हमलाको हामी घोर भर्त्सना गर्दर्छौं ।
डा केसीले सरकारलाई दिएको अल्टिमेटमभित्र अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारबाही गर्न पनि माग गर्नुभएको छ । यदि त्यसो नगरिएको खण्डमा दशौँ अर्बको ठगीको प्रमुख दोषी सरकार नै बताइएको छ ।
‘विभिन्न मागहरुसहित हामीले सरकारलाई आन्दोलनका लागि आजको अल्टिमेटम दिएकोमा तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै यही कात्तिक १८ गते सोमबारदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।