काठमाडौं, स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै चर्चा हुने गरेको छ तर केही जनप्रतिनिधिले पाएको सुविधा सामाजिक कार्यमा खर्च गरिरहेको भने ओझेलमा परेको छ । आफूले पाउने सुविधाको रकम पारिश्रमिक सामाजिक कार्यमा खर्च गरिरहेका मोरङको चार नगरप्रमुखको उदाहरणीय कार्य भने ओझेलमा छ ।
उनीहरू हुन्, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडिया, लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई र उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो ।
स्थानीय तहका जनप्रतिनिधिले उपभोग गर्न पाउने सुविधाका सम्बन्धमा प्रदेश सरकारले कानुन बनाएर लागू गरेको छ तर यी चार नगरप्रमुखले भने सार्वजनिक घोषणा गरेरै सामाजिक कार्यमा खर्चिदै आएका छन् ।
भीम पराजुली, विराटनगर
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले एक वर्षको अवधिमा प्राप्त हुने आफ्नो सेवा सुविधाबापतको रकमबाट एउटा सामुदायिक विद्यालय सुधारका लागि खर्च गर्ने योजना बनाएका छन् । हालसम्म दुईवटा विद्यालयमा लगानी गरेको उनले बताए ।
दिलीप बगडिया, रङ्गेली
रङ्गेली नगरपालिकाकाका प्रमुख दिलीप बगडियाले नगरपालिकाबाट प्राप्त भएको २८ महिनादेखिको सुविधाबापतको रकम छुट्टै बैङ्क खाता खोलेर राखेका छन् । त्यही रकम खर्च गरेर रङ्गेली नगरपालिकालाई वाईफाई फ्री बनाउने योजनामा काम भइरहेको उनले जानकारी दिए ।
शङ्कर राई, लेटाङ
आफ्नो सेवासुविधाबाट जनताको उपचारमा खर्च गर्नेमा लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई अग्रस्थानमा छन् । उनले विराटनगरमा उपचार गर्न खर्च जुटाउन नसकेका आफ्नो नगरका बिरामीको रकम तिर्नमा आफ्नो आम्दानी खर्च गरिरहेको बताएका छन् ।
खड्ग फागो, उर्लाबारी
उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले स्थानीय बक्राह खोलाका बाँध निर्माण गर्न स्थानीयले लागत साझेदारी गर्न नसकेपछि आफ्नै तर्फबाट आठ लाख ५० हजार रुपियाँ लगानी गरिदिए । उनले लागत साझेदारी जुटाउन नसक्ने उपभोक्तालाई सेवा सुविधाबाट प्राप्त भएको रकमबाट दिने गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।