काठमाण्डौ , प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । झापा भद्रपुर नगरपालिका–९ घर भएका ४२ वर्षीय लिलाराज गौतमलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद फैसला सुनाइएका गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट पक्राउ गरी बुधबार काठमाण्डौ ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । उनलाई बुधबार नै जिल्ला अदालत काठमाण्डौमा पेश गरिएकोमा अदालतको आदेशले कारागार कार्यालय डिल्लीबजार चलान गरिएको व्यूरोका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाले जानकारी दिनुभयो ।
विसं २०५७ असोज २९ गते राति सन्ध्या राजवंशीलाई सीताराम बस्नेतले घरबाट बोलाइ लगेको तथा गौतम र मनोज खड्कासमेतले करणी गरी घाँटी थिची हत्या गरेर रुखमा झुण्ड्याइ भागेका थिए । असोज ३० गते बिहान झापाको चारआली जङ्गलमा सन्ध्याको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । यही घटनामा सर्वोच्चले दोषी ठहर गरेको थियो ।