डिभीको आवेदन फर्म खुल्नासाथ राहदानी बनाउनेको संख्यामा वृद्धि, दैनिक तीन हजार आवेदन

५ कार्तिक २०७६, मंगलवार १०:४८

काठमाडौं , राहदानी बनाउनेको संख्यामा अत्यधिक वृद्धि भएको छ । अमेरिकाको डाइभर्सिटी भिसा (डिभी)को आवेदन फर्म खुल्नासाथ राहदानी बनाउनेको संख्यामा पनि अस्वाभाविक वृद्धि भएको हो ।

सोमबारमात्रै ३ हजारले आवेदन दिएको राहदानी विभागले जनाएको छ । अन्य दिन दैनिक ५०० जनाले आवेदन दिने गरेकोमा सो संख्या वृद्धि हुँदै सोमबार तीनहजारको आवेदन परेको थियो । यो संख्यामा अझै वृद्धि हुनसक्ने देखिएको छ ।

अमेरिकाले सन् २०२१ का लागि डिभीको आवेदन खुलाएको छ । असोज १५ गते खुलेको डिभीको आवेदन दिने अन्तिम मिति कात्तिक १९ रहेको छ ।

डिभीको आवेदन भर्दा राहदानी नम्बर अनिवार्य गराएकोले राहदानी बनाउनेको संख्यामा वृद्धि भएको हो । राहदानी नम्बर नभएका डिभीको फाराम अस्वीकार गरिने भएको छ ।