विराटनगर , अवैध हुण्डी कारोबारमा संलग्न एकजनालाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ७ भाटभटेनीस्थित एक्सेल बैंक अगाडिबाट आइतबार साँझ विराटनगर १५ का ४९ वर्षीय विनोदप्रसाद साहलाई पक्राउ गरिएको हो ।
मोरङ प्रहरीका अनुसार साहका साथबाट सात लाख १८ हजार आठ सय ६० नेपाली रुपैयाँ बरामद भएको छ । शंकास्पद रुपमा हिंडिरहेका बेला पक्राउ परेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा साथमा ठूलो परिणाममा नेपाली रुपैयाँ फेला परेको थियो ।
साहले बोकेको रकमको स्रोत नखुलेपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । साहलाई आवश्यक कारबाहीका लागि प्रहरीले सोमबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।