काठमाडौं , निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंमा बयान सकिएपछि साँझ ५ बजे महरालाई जिल्ला अदालत पुर्याइएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि म्याद थप्न महरालाई अदालतमा उपस्थित गराइएको हो।
प्रहरीले घटनाबारे महरासँग अझै बयान पूर्ण गर्न सकेको छैन। बिरामी परेको भन्दै अस्पताल भर्ना भएपछि बयानको प्रक्रिया लम्बिएको हो। संसद सचिवालयका महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो। उहाँलाई सन्चो नभएपछि अस्पताल भर्ना गरिएको हो।
महराविरुद्ध संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन्।