काठमाडौं , प्रदेश ५ का प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोख्र्रेलले फर्जी कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएको खुलासा भएको छ । यससँगै प्रदेश ५ को लोकसेवा आयोग गठन प्रक्रिया विवादमा परेको छ ।
लोकसेवा आयोगको सदस्य हुन आवश्यक पर्ने योग्यता र अनुभव विपरीत शर्माले आफ्नी बुहारीलाई बलपूर्वक नियुक्ति दिलाएको स्रोतले जानकारी दिएको छ । लोकसेवा आयोगजस्तो महत्त्वपूर्ण र संवेदनशील निकायमा फर्जी कागजातका आधारमा पदाधिकारी नियुक्ति हुने परम्परा देखिएसँगै प्रदेश लोकसेवा आयोग भर्ती केन्द्र बन्ने खतरा बढेको छ । प्रदेश लोकसेवाको सदस्यमा नियुक्त भएकी पोख्रे्रल कुनै अध्ययन अनुसन्धानमा संलग्न छैनन् ।
प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा रहने प्रदेश लोकसेवा आयोग सिफारिस समितिमा विपक्षी दलका नेताको हैसियतमा बलदेव शर्मा पोख्रेल सदस्य छन् । उनी नेपाली कांग्रेस सम्बद्ध हुन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।