काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पार्नु भएको छ । पार्टीभित्रैबाट आलोपालो सरकार नेतृत्वबारे बहस भैरहेको बेला नेता शर्माले पाँच वर्ष नै ओलीले सरकारको नेतृत्व गर्ने दाबी गर्नु भएको हो ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले आलोपालोको कुरा उठेपनि अहिले त्यो सम्भावना नरहेको जिकिर गर्नु भयो । उहाँले भन्नु भयो ,‘अहिले सरकारले धमाधम परीणाम दिन थालेको छ । सरकारलाई अस्थिर बनाउने काम कोही कतैबाट हुनुहुँदैन् । वर्तमान प्रधानमन्त्री ओलीजी नै पाँच वर्षको प्रधानमन्त्री हो । यसमा कुनै द्धिविधा छैन् ।’
साक्षात्कारमा बोल्दै नेता शर्माले मन्त्रिमण्डल पूनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भएको बताउनु भयो । तर, कहिले पूनर्गठन गर्ने वा नगर्ने भन्ने सम्पूर्ण निश्कर्ष र निर्णय प्रधानमन्त्रीले गर्ने भएकोले अहिले नै केही भन्न नसकिने पनि शर्माको स्पष्टोक्ति छ । उहाँले भन्नु भयो ,‘मन्त्रिमण्डल विस्तार गर्नुपर्छ भन्ने सोचाई हाम्रा शीर्ष नेताहरुमा आएको छ । तर, यसको निर्णय त प्रधानमन्त्रीज्यूले गर्ने हो । कहिले हुन्छ मलाई थाहा छैन् ।’