मकवानपुर, बकैया गाउँपालिका – ३ जलजलेमा धारिलो हतियार प्रयोग गरी बुधबार राति एक जनाको हत्या गरिएको छ । हतियार प्रहारबाट अन्य दुई जना घाइते भएका छन् ।
बकैया गाउँपालिका ३ जलजलेमा घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लो माथि ५० बर्षीय सुकबहादुर पाख्रिननले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सन्तमायाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।
पाख्रिनले धारिलो हतियार प्रहार गरी अन्य २ जना घाइते बनाएका छन् । घाइते हुनेमा मुतकका श्रीमान ५५ वर्षीय कालबहादुर लो र स्थानीय २६ बर्षीया दिवीमाया मोक्तान रहेका छन् । उनीहरुको टाउको, निधारमा चोट रहेको र घाइते दुवैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लामो समयदेखि आपसी झै–झगडाका कारण हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले राति नै हतियारसहित पक्राउ गरेको छ ।