ग्यास्ट्रिककै औषधिले क्यान्सर निम्त्याउने जोखिम

२९ आश्विन २०७६, बुधबार ०९:२९

काठमाडौं, औषधि व्यवस्था विभागले ग्यास्ट्रिकको उपचारमा प्रयोग गरिँदै आएको र्यानिटिडिन समूहको औषधिले सेवनकर्तालाई क्यान्सर गराउन सक्ने जोखिम रहेको भन्दै प्रयोग नगर्न निर्देशन दिएको छ । विभिन्न अनुसन्धानका क्रममा सो औषधिको प्रयोगले क्यान्सर निम्त्याउन सक्ने जोखिम पाइएपछि विभागले हालका लागि उक्त औषधि उत्पादन, आयात, बिक्री–वितरण र प्रयोग नगर्न निर्देशन दिएको हो ।

औषधिमा ‘नाइट्रोसमिन इम्प्युरिटी, नाइट्रोसोडिमिथाइलमाइन ९एनडिएमए०’ थोरै मात्रामा रहेको र यसले मानिसलाई क्यान्सर गराउन सक्ने देखिएपछि विभागले सर्तक रहन आग्रह गरेको हो । अमेरिकामा भएको इम्युनिटी इन्टरनेसनल एजेन्सी अफ रिसर्च अन क्यान्सर ९आइएआरसी० ले केही महिनाअघि मात्रै र्यानिटिडिन औषधिमा क्यान्सरको तत्व रहेको पत्ता लगाएको थियो । र्यानिटिडिनमा ‘नाइट्रोसमिन इम्प्युरिटी, नाइट्रोसोडिमिथाइलमाइन ९एनडिएमए० थोरै मात्रामा रहेको र यसले मानिसलाई क्यान्सर गराउन सक्ने देखिएको थियो । आइएआरसी र्यानिटिडिन समूहको औषधिले क्यान्सर गराउन सक्ने तथ्यहरू सार्वजनिक भई त्यसअनुरूप वर्गीकरण गरिएसँगै विभागले स्वदेशी उत्पादन र विदेशबाट आयात हुने औषधि तथा कच्चा पदार्थमा जोखिमयुक्त तत्व यकिन गर्ने व्यवस्था मिलाउन भनेको छ ।

विभागले पत्राचार गर्दै औषधि उत्पादक र आयातकर्तालाई नेपाली बजारमा उत्पादन तथा प्रयोग हुने सो समूहको औषधिमा ‘नाइट्रोसमिन इम्प्युरिटी, नाइट्रोसोडिमिथाइलमाइन’ भए–नभएको यकिन गर्न निर्देशन दिएको हो । यस औषधिको प्रयोगले क्यान्सर गराउन सक्ने सम्भावना देखिएपछि अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले पनि सर्तक रहन अनुरोध गरेको थियो । त्यसपछि बंगलादेश, भारतलगायत देशले यो औषधि प्रयोग नगर्नेका लागि सर्वसाधारणलाई आग्रह गरिसकेका छन् ।

नेपालमा र्यानिटिडिन समूहका ७–८ वटा ब्रान्डका औषधि उत्पादन र आयात हुने गरेको विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्री बताउँछन् । नेपालका ७ वटा कम्पनी एपेक्स, टौरस, केमिड्रग्स, लोमस, क्युरेक्स, मार्क फर्मुलेसन र युनिक फर्माले यो औषधि उत्पादन गर्दै आएका छन् । ‘हाललाई यो औषधि उत्पादन, अयात, बिक्री–वितरण तथा प्रयोग नगर्नू भनेका छौँ,’ महानिर्देशक क्षेत्रीले भने, ‘जनस्वास्थ्यमा असर गर्ने औषधि उत्पादन तथा बिक्री वितरण गर्न पाइँदैन र हुँदैन ।’ उनले थपे, ‘जनस्वास्थ्यमा असर गर्ने औषधि उत्पादन तथा पैठारी गर्न पाइँदैन, ¥यानिटिडिनमा क्यान्सर गराउने जोखिम रहेको कुरा सार्वजनिक भएपछि हामीले पनि यसमा आवश्यक निर्णय गरेका हौँ ।’

नेपालमा स्वदेशी र विदेशी गरी यो औषधिको लगभग १५ करोडको वार्षिक कारोबार हुने गरेको बताइन्छ । नेपालका ७ वटा कम्पनी एपेक्स, टौरस, केमीड्रग्स, लोमस, क्युरेक्स, मार्क फर्मुलेसन र युनिक फर्माले यो औषधि उत्पादन गर्दै आइरहेका छन् । नेपालमा ग्यास्ट्रिकको समस्या आम मानिसहरूमा रहेको छ । सबैजसो नेपालीलाई न्यूनाधिक रूपमा ग्यास्ट्रिक हुने गरेको भन्दै यसलाई नेपालीको साझा समस्याका रूपमा समेत लिइन्छ । यस्तोमा नेपाली बजारमा छ्यासछ्यास्ती उपलब्ध ग्यास्ट्रिकका विभिन्न ब्रान्डका औषधि राम्रै बिक्री हुने गरेका छन् । तर, यो औषधि कतिले प्रयोग गरिरहेका छन् र बजारमा अहिले कति मात्रामा स्टक रहेको छ भन्ने तथ्यांक विभागसँग छैन । सौर्य अनलाइनबाट