चिनियाँ सहयोगमा अत्याधुनिक सुविधासहितको दुई व्यापारिक नाका बन्दै

२६ आश्विन २०७६, आईतवार ०९:१८

काठमाडौं, नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य सुरु भएको छ।

अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कुल ६ किलोमिटर तल लार्चामा निर्माण भएको सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारलाई थप सहज बनाएको छ ।

यस्तै, आगामी ३० महिनाभित्र रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण सक्ने लक्ष्य राखिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

गोरखा भूकम्पको त्रासदीपछि करिब ४ वर्ष बन्द भएको तातोपानी नाका गत जेठदेखि सञ्चालनमा आयो । सो नाका सञ्चालनमा ल्याउन नेपालले गरेको आग्रहलाई स्वीकार गर्दै चीनले दुई देशबीचको व्यापार तथा वाणिज्यको विस्तारमा सहयोग गर्यो ।

दुई देशबीचको मैत्री सम्बन्धको परिचयका रूपमा स्थापित रहेको अरनिको राजमार्गसमेत चिनियाँ सहयोगमा नै निर्माण भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि हुन लागेको दुई दिवसीय नेपाल भ्रमणका क्रममा समेत सो राजमार्गको स्तरोन्नतिलगायतका विषयसमेत समावेश भएको जनाइएको छ ।

सो सडक विस्तार र स्तरोन्नति भएपछि दुई देशबीचको सम्बन्ध, आर्थिक विकास र विस्तारमा समेत थप नयाँ आयाम स्थापित हुने विश्वास लिइएको छ।

सोही नाका खुलेपछि क्रमशः दुई देशीय व्यापारमा नयाँ आयाम थपिएको छ । सोही नाकामा नै सुक्खा बन्दरगाहसमेत सञ्चालनमा आइसकेको छ । सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारका लागि सहज मात्रै बनाएको छैन । अत्याधुनिक सेवा सुविधासमेत पाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।