राष्ट्रपति सीसँगको रात्रिभोजः पोशाकको रंगदेखि खाना खाने समयमा समेत ध्यान दिनुपर्ने यस्तो छ नियम

२५ आश्विन २०७६, शनिबार १६:१३

काठमाण्डौ , चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने अतिथिहरुले पोशाकको रंगदेखि खाना खाने समयमा समेत ध्यान दिनुपर्ने भएको छ । परराष्ट्र मन्त्रालयले निम्तो कार्डसँगै अतिथिहरुले पालना गर्नुपर्ने नियम बुँदागत रुपमा लेखेर पठाएको छ ।

रात्रिभोजमा सहभागी हुने पुरुषहरुले नेपालको राष्ट्रिय पोशाक दौरा, सुरुवाल र ढाका टोपी , यदि राष्ट्रिय पोशाक नलगाए सेतो सर्ट र गाढा कालो रंगको सुट लगाउनुपर्ने छ । जुत्ता भने तुनावाला कालो रंगको हुनुपर्ने छ । महिलाहरुलाई सारी वा गाढा रंगको सुट लगाउन मन्त्रालयले भनेको छ ।

त्यस्तै अतिथिहरुलाई सुरक्षा जाँच गराएरमात्र रात्रिभोज स्थलमा प्रवेश दिइने भएकाले तोकिएको समयभन्दा ४५ मिनेट अगाडि नै भोजस्थलमा पुगिसक्नु पर्ने छ । भोजको बेला मोबाइल फोन अफ गर्न र तस्वीर नखिच्न भनिएको छ ।

प्रमुख अतिथि सी जिनफिङले खाना खान सुरु गरेपछि मात्र अरुले खान सुरु गर्नु पर्ने छ । खाना खाइरहेको बेला उठ्न पाइने छैन र चिनियाँ राष्ट्रपति सी हलबाट बाहिर निस्किएपछि मात्र अन्य अतिथिहरु आफ्नो स्थानबाट उठ्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।