
काठमाण्डौ , यही शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणामा सी दुई दिने नेपाल भ्रमणका लागि आगामी असोज २५ गते शनिबार नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिका अनुसार यो कुरा बताइएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’ मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सो क्रममा दुई देशबीच समझदारी पत्र र एमओयूमा हस्ताक्षर गरिने जनाइएको छ । राष्ट्रपति सीले विभिन्न पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।
यससँगै २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालले तयारी तीब्र बनाएको छ । उनको भ्रमणलाई लिएर काठमाण्डौका सडकहरु सिघाँरिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
