काठमाडौं , चिकित्सा क्षेत्र सुधारका लागि संघर्षरत चिकित्सक डा गोविन्द केसीले विभिन्न ७ बुँदे माग राख्दै फेरि सरकारलाई अल्टिमेटम दिनु भएको छ । उहाँले दुई साताभित्र आफ्नो माग सम्वोधन नभए पुनः सत्याग्रह सुरु गर्ने चेतावनी पनि दिनु भएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै डा केसीले यसअगाडि भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने माग अघि सार्नु भएको हो । उहाँले नेताहरुको उपचार खर्च पारदर्शी बनाउनुपर्ने भन्दै प्रधानमन्त्रीको यथार्थ स्वास्थ्य अवस्था सार्वजनिक गर्न पनि आग्रह गर्नु भएको छ ।
विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तीको प्रक्रिया रोकी परासर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्नुपर्ने उहाँको अर्को माग छ । डा केसीले नेपालका सबै निजी मेडिकल कलेजले अवैधरुपमा असुल गरेको रकम फिर्ता गर्नुपर्ने र दोषी मेडिकल कलेजहरुलाई कारवाहीमा पनि जोड दिनु भएको छ ।
यसैगरी संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गर्नुपर्ने उहाँको माग छ ।