काठमाडौं , नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले सभामुखले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्मविपरीत भएको बताउनु भयो ।
पूर्व उपप्रधानमन्त्री सिंहले कानून सबैका लागि बराबर भएको बताउँदै अनुसन्धानमा सङ्लग्न प्रहरीलाई दबाब र प्रभावमा नपरी चनाखो भएर अनुसन्धान गर्न आग्रहसमेत गर्नु भयो । अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उहाँको भनाइ थियो ।
पार्टीका पूर्व महामन्त्रीसमेत रहेका सिंहले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य भएमात्र पार्टी बलियो हुने उल्लेख गर्नु भयो । उहाँले पार्टीका सबै कार्यकर्तालाई समेटेर नेतृत्वले जिम्मेवारी दिनुपर्नेमा जोड दिनु भयो ।