बलिउड अभिनेत्री अमिषाविरुद्ध पक्राउ पुर्जी

३० आश्विन २०७६, बिहीबार १०:२३


एजेन्सी
मुम्बई , भारतको झारखण्डस्थित राँचीको अदालतले बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनलाई धोका र चेक बाउन्सको मामिलामा पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पटेलविरुद्ध राँची निवासी फिल्म निर्माता अजयकुमार सिंहले उजुरी दिएका थिए । चलचित्र निर्माण गर्ने भन्दै अभिनेत्री अमिषाले सिंहसँग दुई करोड पचास लाख भारतीय रुपैयाँ लिएकी थिइन् । यस विषयमा सिंहले भने, ‘अमिषा पटेल र उनका व्यापारिक साझेदार कुणालले सिनेमा बनाउनका लागि मसँग दुई करोड ५० लाख लिएका थिए । उनीहरूले सन् २०१८ मा सिनेमा रिलिज भएपछि पैसा फर्काउने वाचा गरेका थिए । तर, सिनेमा रिलिज भएन । त्यसपछि जब मैले अमिषासँग पैसा मागेँ तब उनले मलाई तीन करोडको चेक दिएकी थिइन्, जुन पछि बाउन्स भयो ।’

अब पक्राउ पुर्जी लिएर राँची प्रहरी मुम्बई जानेछ । यसैगरी, सिंहले अभिनेत्री अमिषा र उनका साथी कुणालले आफ्नो फोनलाई बेवास्ता गरेपछि आफूले बाध्य भएर प्रहरीमा उजुरी दिएको जनाए । गत साल अमिषाले ‘देशी म्याजिक’ चलचित्र रिलिजका लागि सिंहसँग पैसा लिएकी थिइन् । पटेल हाल जारी बिग बोसको १३औँ संस्करणमा प्रतिस्पर्धी रहेकी छन् ।