नेपालको विकासका लागि त्रिदेशीय सम्बन्ध आवश्यक छः प्रचण्ड

२९ आश्विन २०७६, बुधबार १८:५७

काठमाडौं , पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समृद्धिका लागि त्रिदेशीय सम्बन्ध आवश्यक रहेको बताउनु भएको छ ।

नेकपाले बुधबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उहाँले नेपाल, भारत र चीनबीचको सुमधुर सम्बन्ध र आपसी सहयोगबाट नेपालले लाभ लिन सक्ने बताउनु भएको हो ।

उहाँले भारतको सहयोगमा अमलेखगञ्जमा पेटोलियम पाइपलाइन स्थापना भएको स्मरण गर्दै हालै चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणका क्रममा दिएको बचन ऐतिहासिक भएको बताउनु भयो । उहाँले चिनियाँ राष्ट्रपतिलेनेपाललाई ल्यान्डलकबाट ल्याण्डलिंक मुलुक बनाउन दिएको बचन नेपाल र नेपालीका लागि महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले सीको नेपाल भ्रमणका धेरै आयाम रहेको बताउँदै दुई देशबिचको विश्वास र समझदारी ऐतिहासिक भएको बताउनु भयो ।

उहाँले आफू प्रधानमन्त्री रहेका बेला भारत र चीन भ्रमणका क्रममा आफूले त्रिदेशीय सम्बन्धको बारेमा कुरा उठाएको बताउदै नेपालको हितका लागि यस्तो सम्बन्ध आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाँले अहिले हासिल गरेको लोकतान्त्रिक गणतन्त्र ७० बर्षको संघर्षबाट प्राप्त भएको बताउँदै यसको हक कुनै नेता विशेष र दल विशेष नभई सबैको साझा सम्पतिको रुपमा रहेको भन्दै यसको रक्षाका लागि सबै दलहरु एकताबद्ध हुनुपर्ने बताउनु भयो ।